१८ महिनाको प्रधानमन्त्री दाहालको कार्यकाल
१९ असार,काठमाडौँ । १८ महिनाअघि संसदबाट विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब भने अल्पमतमा परेर पद गुमाउनुपर्ने अवस्थामा आइपुगेका छन् । यदि एमाले र कांग्रेस सोमबार राति भएको सहमति कार्यन्वयनमा गएमा प्रचण्डसँग राजिनामा दिने कि पाँचौँ पटक विश्वासको मत लिने दुई विकल्प खुला हुन्छ । दुई ठूला दल मिलिसकेको अवस्थामा प्रचण्डले सदनबाट विश्वासको मत गुमाउने पक्का छ । यो १८ महिनामा प्रधानमन्त्री दाहालले केही सम्झनलायक काम गरेका छन् भने केही काममा आलोचना व्यहोर्नु परेको छ ।
भुटानी शरणार्थीको अनुसन्धान
प्रचण्ड नेतृत्वको सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेको थियो । जसमा कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी,तत्कालिन सचिव टेकनारायण पाण्डे, बेचना झा, एमाले उपाध्याक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा, रायमाझीका छोरा सन्दीप राजमाझीलगायत उच्च व्यक्तिहरू पक्राउ गरेको थियो ।
अदालतले केही व्यक्तिलाई धरौटीमा छोडे पनि मुद्दा भने अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ । राजनीतिक दलका नेता तथा कर्मचारीसँग मिलेर नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा खाएका दलालले अमेरिका नपठाएपछि यो घटना बाहिर आएको थियो । यो प्रकरणपछि कांग्रेस र माओवादीबीच सम्बन्धमा चिसोपना आएको थियो । तर पनि यो प्रकरणमा मुछिएका सबैलाई सरकारले पक्राउ गर्यो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता गर्नु यो सरकारको अर्को उपलब्धि हो । ४२ वर्षदेखि चौधरी ग्रुपले हडपेको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पियन फुटवेयर लिमिटेड हुँदै व्यक्तिको नाममा लिएको थियो । जग्गा हिनामिना गरेको आरोपमा कांग्रेस सांसद विनोद चौधरी र उनका भाइ वसन्त चौधरीसँग बयान लिएको थियो ।
सीआईबीले चौधरीका भाइ अरुण चौधरी, छालाजुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायन सिंह थापा, सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत वर्षको १८ माघमा पक्राउ गरेको थियो । पछि हाजिरी जमानीमा छोडेको थियो । यो विपषयमा पहिलादेखि नै सीआईबीले अनुसन्धान गरिरहेको थियो ।
बालमन्दिरको जग्गा फिर्ता
काठमाडौँको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको बालमन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदनलाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज गरेको थियो । संगठनका तत्कालिन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वास्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पति विद्या सदनलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता खारेज भएको हो ।
बृहस्पतिसँग भएको लिज सम्झौता बदनियतपूर्ण र आर्थिक चलखेलका आधारमा भएको भन्दै सरकारले सम्झौता खारेज गरेको थियो । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुनकाण्डमा आफ्नै पार्टीका उपाध्यक्ष पक्राउ
सुनकाण्डमा नाम जोडिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । तत्पश्चात महराले आयोगमा गएर बयान दिएका थिए । महराको छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अहिले पनि जेलमा छन् । सुनकाण्डमा नेपालमा पहिलो पटक धेरै मानिस पक्राउ परेको पनि प्रचण्ड सरकारकै पालामा हो ।
राष्ट्रियसभा अध्यक्ष
प्रधानमन्त्री भएका प्रचण्डलाई पार्टी भित्र सबै ठाउँमा भागवण्डा छोड्दै आएको आरोप लाग्ने गरेको थियो । विभिन्न समयमा गठबन्धन गर्दा राष्ट्रपति कांग्रेसलाई, सभामुख एमालेलाई दिएका प्रचण्डले राष्ट्रियसभा अध्यक्ष माओवादीका नेता नारायण दाहाललाई बनाए । उनलाई नबनाएको भए माओवादीको संवैधानिक परिषदमा प्रतिनिधित्व नै हुँदैनथ्यो ।
विश्वास गुमाए
प्रधानमन्त्री प्रचण्डले यो १८ महिनामा सबैभन्दा बढी विश्वास गुमाएका छन् । कांग्रेसले प्रधानमन्त्री नबनाएपछि १० पुस २०७९ मा एमालेको समर्थनमा प्रदानमन्त्री बने । सुरुमा कांग्रेसले आफ्नो पार्टी ठूलो दल भएकाले चुनावी गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्री दिने भने पनि प्रधानमन्त्री दिन मानेन । एमालेको साथमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुनमा नै एमालेलाई छोडेर कांग्रेससँग गठबन्धन गरी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई सघाए र पौडेल राष्ट्रपति बने ।
जबकि त्योभन्दा पहिले एमालेसँग मिलेर सातै प्रदेशमा गठबन्धनकै सरकार बनाएर केन्द्रमा सभामुख एमालेका देवराज घिमिरेलाई प्रचण्डले बनाएका थिए । प्रधानमन्त्री बनेको १४ महिनापछि एकाएक एमालेसँग गठबन्धन गरेर कांग्रेसलाई प्रतिपक्षमा पुर्याए । जसको कारण कांग्रेसका सांसद रामहरी खतिवडाले सदनमा आक्रोष प्रकट गर्दै “तपाईले पटक पटक धोका दिनुभएको दल एक ठाउँमा उभियो भने तपाईको हालत के हुन्छ ?” भनेका थिए ।
समाजवादी मोर्चा विघटन
कांग्रेससँग गठबन्धनमा हुँदै गत वर्ष ४ असारमा प्रचण्डले चार दललाई समेटेर समाजवादी मोर्चा निर्माण गरेका थिए । तर दोस्रोपटक एमालेसँग गठबन्धन गरेपछि उक्त गठबन्धन निष्कृय हुन पुग्यो । गठबन्धन दलमा रहेको जनता समाजवादी पार्टी नेपाल नै विभाजित भयो ।
उपेन्द्र-माधवको पनि अविश्वास
प्रचण्डलाई २०६४ सालदेखि साथ दिँदै आएका उपेन्द्र यादवको पार्टी प्रचण्डका कारण विभाजन भएको आरोप उपेन्द्रले लगाउँदै आएका छन् । आफ्नो सरकार जोगाउन ओलीसँग मिलेर आफ्नो पार्टी फुटाएको बुझाइ जसपाको छ । त्यही भएर प्रचण्डले लामो समयदेखि साथ दिँदै आएका उपेन्द्रको साथ गुमाए ।
प्रचण्डले दुवैपटक गठबन्धन फेरे तर दुवैपटक माधव नेपाललाई कुनै जानकारी दिएनन् । कांग्रेससँगको गठबन्धन तोड्दा पनि नेपाललाई बालुवाटारमा नै छोडेर बालकोट पुगेका थिए । दोस्रोपटक कांग्रेस छोडेर एमालेसँग मिल्दा पनि नेपाललाई कुनै जानकारी दिइएन ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डप्रति सकारात्मक छैनन् । त्यस्तै एमाले ओलीले कांग्रेससँगको गठबन्धन भत्काउन लगाएर चार महिनामा नै साथ छोड्नुमा प्रचण्डको कार्यशैली मुख्य कारक रहेको एमालेका नेताहरू बताउँछन् ।
पार्टीभित्र पनि अविश्वास
प्रधानमन्त्री भएदेखि नै प्रचण्डले एक पक्षलाई नजिक र एक पक्षलाई टाढा बनाए । उनको यही प्रवृत्तिका कारण पार्टी कमजोर हुँदै गयो । आफू र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सधै सरकारमा राखे । पार्टीका प्रभावशाली दुई नेता सरकारमा सामेल हुँदा र युवा नेताहरूलाई भूमिका नदिँदा पार्टीमा पनि असन्तुष्टि बढ्यो । प्रधानमन्त्री हुँदा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई बचाउन नसकेको भन्दै आन्तरिक रूपमा नेता तथा कार्यकर्ताहरू रुष्ट हुन थाले ।
Comments