संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको जन्म वि.सं. २००९ फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा पिता रामबहादुर नेम्बाङ र माता अपिन्द्रकुमारी कोखबाट जन्म भएको थियो । 

उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे । प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए । उनी इलाम—२ बाट २०५६ सालदेखि लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका थिए। त्यसअघि उनी विस २०४८ र २०५१ राष्ट्रिय सभा सदस्य बनेका थिए ।

उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने । त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भएका थिए । 

वि.सं. २०६३ सालमा (पुन: स्थापित प्रतिनिधि सभा) को सभामुख, वि.सं. २०६४-६५ सालमा सभामुख, वि.सं. २०७० सालमा (संविधानसभा अध्यक्ष-सभामुख) र वि.सं.२०७२ सालमा गरी ४ पटक सभामुख भएका थिए ।

उहाँको निधनले हामीलाई मात्र नभएर देशले नै कुशल अभिभावक गुमाएको छ । उहाँलाई भूगोल पार्क परिवारको तर्फ चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।